श्रीरामानुजाचार्य एवम् विशिष्टाद्वैत दर्शन - Shri Ramanujacharya and Vishistadwaita

(0 User reviews)   109   27
By Upayogi Books Posted on Nov 14, 2025
In Category - Darshan
Vaishnav Yuwa Parisad Sri Vaishnav Parisad
Sri Vaishnav
102 Nepali Nepal
भगवद्-रामानुजाचार्य-अवतार (जन्म) सहस्राब्दी महोत्सव (२०७३/०७४) को पावन अवसरमा प्रकाशित

परब्रह्म परमात्माको लीलाविभूतिरूप यस धराधाममा अवतार लिएर आउनुहुने सबै महापुरुषले आफ्ना पवित्र आचरण र दिव्य उपदेशबाट सन्मार्ग प्रदर्शन गर्नुहुन्छ । गुणग्राही निर्मत्सर व्यक्तिहरूले महापुरुषका यस्ता आदर्शमय जीवनचरित्र र महनीय उपदेशबाट सन्मार्ग प्राप्त गरी आफ्नो जीवनलाई सफल बनाउँछन् । त्यसैले नै सन्मार्गका प्रदर्शक वेदादि शास्त्र जत्तिकै महापुरुषका यी पावन चरित्र र दिव्य उपदेश पनि विवेकी पुरुषका लागि उत्तिकै ग्राह्य र मननीय हुन्छन्, किनभने सद्धर्मको उपदेश गर्ने सम्पूर्ण गहन शास्त्रहरूको सारलाई आफूले बुझेर तदनुरूप आचरण भएका यी पावन चरित्र र उहाँका सदुपदेशहरू पनि स्वयम् सत्-शास्त्र नै हुन् भन्दा अतिशयोक्ति नहोला। यसरी सबैका लागि पथप्रदर्शक बनेर कल्याण गर्नु नै भगवदंशभूत महापुरुषका अवतारको मुख्य प्रयोजन हो। अतः हामीले यस्ता महनीय चरित्रलाई बारम्बार पढनुपर्दछ, सुन्नुपर्दछ र मनन गर्नुपर्दछ ।

 

अनादिकालदेखि संसारमा फसेर अनेकौं दुःख-कष्ट भोग्दै गरेका जीवात्माको उद्धार गर्नका लागि परम दयालु भगवान्ले नै शास्त्रहरूका माध्यमले सनातन धर्म-अन्तर्गतको सर्वसुलभ भक्ति-प्रपत्तिमार्ग प्रदर्शन गर्नुभयो । यस सरल सुगम भक्ति-प्रपत्तिधारालाई साधुसन्त महापुरुषहरूले समय-समयमा अवतार लिएर प्रकट गर्दै आउनुभएको छ । सत्य आदि युगमा प्रह्लाद, ध्रुव, शबरी, गोपी आदि भक्तहरूले गरेको पराभक्तिरूप मार्गलाई नै कलियुग सुरु भएपछि दक्षिणभारतमा आउनुभएका आल्वार् नामले प्रसिद्ध भगवद्-भक्त सन्त महापुरुषहरूले जन-जनमा पुऱ्याएर संवर्धन गर्ने कार्य गर्नुभयो । त्यसपछि श्रीनाथमुनि, श्रीयामुनमुनि आदि आचार्यहरूले फैलाउँदै लगेको यस सर्वसुलभ मार्गलाई श्रीरामानुजाचार्यले वेद, ब्रह्मसूत्र, गीता आदि ग्रन्थहरूको यथार्थ निरूपण गर्ने प्रकट गर्ने प्रामाणिक भाष्यग्रन्थहरूको प्रणयनद्वारा विशिष्टाद्वैतसिद्धान्तको संरक्षण तथा संवर्धन गरी दिगन्तव्यापी बनाएर सर्वलोकहितैषी महान् कार्य गर्नुभयो ।

 

वैदिक शास्त्रको मर्यादा राख्दै "ईशा वास्यमिदम्, वासुदेवः सर्वम्"

 

यस्ता वेद निर्दिष्ट लोककल्याणकारी वैदिक सिद्धान्तको अनुसरण गर्दै श्रीरामानुजाचार्यले सबै पदार्थ भगवान्‌का अधीनमा छन् र सबैमा भगवान्को वास छ भन्ने उदात्त भावनाबाट अभिप्रेरित भएर सबैले भगवद्-भक्तिप्रपत्तिद्वारा आत्मकल्याण गर्न सक्दछन् भनेर वेदादि शास्त्रद्वारा प्रतिपादित यस भक्ति-प्रपत्तिधारालाई सर्वसुलभ बनाउनुभयो, जसले गर्दा आज उहाँको प्रादुर्भाव भएको हजार वर्षसम्म पनि यो धारा अविच्छिन्न रूपमा दिनानुदिन विश्वभरि नै फैलिँदै आएको छ । अतः उहाँको यस महान् उपकारलाई सनातन धर्मावलम्बी सबैले स्मरण गर्दै आज विश्वभरि नै सहस्राब्दी संपूर्ति महोत्सव (१०००औं जन्मजयन्ती) धूमधामसँग मनाइँदै छ।

 

यसै क्रममा सनातन धर्मसंस्कृतिको मूलस्रोतको रूपमा चिनिएको, ऋषिमहर्षिको साधनास्थलका रूपमा परिचित, हिमालयका काखमा स्थित यस पावनभूमि नेपालमा पनि श्रीरामानुजाचार्यले गर्नुभएको वैदिकधर्मको संरक्षण/संवर्धन एवं तदन्तर्गत भक्ति/प्रपत्तिमार्गको प्रचार/प्रसाररूप महान् उपकारलाई स्मरण गर्दै वैदिक सनातन धर्मावलम्बी हामीले अतिहर्षका साथ सहस्राब्दी महोत्सव मनाउँदै छौँ। श्रीरामानुजाचार्यका वैभव बढाउने विभिन्न कार्यहरूमध्ये प्रमुख कार्य उहाँद्वारा विरचित ग्रन्थहरूको अनुवाद सहित प्रकाशन, रामानुज सन्देश पत्रिकाको सहस्राब्दी महोत्सव स्मारिकारूप विशेषाङ्कको प्रकाशन एवं उहाँको पावन चरित्र र दिव्य उपदेशहरूलाई समेटेर सरल नेपाली भाषामा श्रीरामानुजाचार्य एवं विशिष्टयद्वैतदर्शन नामक एउटा स्वतन्त्र परिचय पुस्तकको पनि सम्पादन गरी प्रकाशन गर्न श्रीवैष्णव परिषद्, महिला परिषद् र युवा परिषद्बाट हामीलाई जिम्मेवारी प्राप्त भयो ।

 

यसमध्ये सर्वप्रथम परिचय पुस्तिक तयार पार्ने कार्यमा हामी संलग्न भयौँ। हजार वर्षअघिका भगवदंशभूत महापुरुषको जीवनचरित्र लेख्ने कार्य त्यति सजिलो थिएन, किनकि विषयको (त्यस समयका घटनाको) पर्याप्त जानकारी हुने आधारहरू धेरै हुँदैनन् । तैपनि विभिन्न प्रकाशित ग्रन्थहरू र आप्तपुरुषहरूको सल्लाह-सुझावलाई आधार बनाई यसलाई सकेसम्म प्रामाणिक एवं राम्रो बनाउने प्रयास गरिएको छ। जसअनुसार सामग्री सङ्कलन गर्न श्रीरामानुज स्वामीजीकै साक्षात् शिष्य श्रीगरुडवाहन स्वामीजीद्वारा विरचित दिव्यसूरिचरितम् (१७-१८ सर्ग) तथा श्रीआन्ध्रपूर्ण स्वामीजीद्वारा विरचित यतिराजवैभवम्लाई मुख्य आधार बनाइएको छ भने सोह्रौँ शताब्दीका श्रीअनन्ताचार्यद्वारा विरचित प्रपन्नामृत लगायत अन्य केही हिन्दी तथा नेपाली भाषामा प्रकाशित पुस्तकहरूलाई पनि सन्दर्भ ग्रन्थहरूको रूपमा लिइएको छ । विभिन्नकालमा छुट्टा छु‌ट्टै शैलीमा लेखिएका ती ग्रन्थहरूमा घटनाप्रसंगहरू पनि भिन्न-भिन्न प्रकारकै भेटिएकाले वास्तविकता छुट्याउन निकै कठिनाइ भयो । यसअवस्थामा हामीले सकेसम्म स्वामीजीकै साक्षात् शिष्यहरूद्वारा लेखिएका ग्रन्थहरूलाई प्राथमिकतामा राखेर पूर्णता दिने प्रयास गरेका छौं । यसअवस्थामा बाल्यकालदेखि नै दक्षिण भारतमा रहेर उभय वेदान्त (संस्कृत उपनिषद् आदि शास्त्र र द्राविड दिव्यप्रबन्ध) को साङ्गोपाङ्ग अध्ययन गर्नुभएका आधिकारिक विद्वान्, महात्मा श्रीकृष्णमाचार्य स्वामीजीबाट हामीलाई प्राप्त विशेष मार्गदर्शनले विषय व्यवस्थापन गर्न र कैयौँ विषयको शङ्का समाधान गर्न पनि महत्त्वपूर्ण सहयोग भयो । यसका साथै दक्षिण भारतमै रहेर द्राविडप्रबन्ध सहित सम्पूर्ण वैदिक शास्त्रको गहन अध्ययन गर्नुभएका अर्का विद्वान् प्रा.डा.श्री पुरुषोत्तम नेपालज्यूबाट पनि केही विषयको शङ्कासमाधानमा सहयोग मिल्यो ।

 

जीवन चरित्र भन्दा पनि वेदान्त शास्त्रका गहनतम विषयहरूलाई नेपालीभाषामा लेख्न झन् गाह्रो थियो । तर पनि हामी सबैका प्रेरणाका स्रोत, मार्गदर्शक, भक्तिज्ञानवैराग्यसम्पन्न, परमपूज्य श्री जगन्नाथाचार्य (वृन्दावन रंगमन्दिरमा रहनुहुने गुरुजी) एवं उहाँकै कृपाद्वारा मिल्नुभएका दक्षिणभारत मैसुरनिवासी, भारतराष्ट्रपतिबाट पुरस्कृत, दार्शनिक जगत्का अद्वितीय विद्वान्, पण्डितरत्नं श्रीके.एस्. वरदाचार्य स्वामीजीसँगको अध्ययनकालमा प्राप्त सान्निध्य र शुभाशिर्वादले केही विषयहरू संग्रह गर्न सकियो र अहिले संकलन गरेका ती विषयहरूलाई अन्तिमरूप दिन श्रीवैष्णव समुदायका अभिभावक, वयोवृद्ध एवं ज्ञानवृद्ध, उभयवेदान्ताचार्य, अनन्तश्रीविभूषित त्रिदण्डी शठकोप (परांकुशाचार्य) जीयर् स्वामीजी एवं हामी सबैका प्रेरक, श्रीवैष्णव परिषद् नेपालका अध्यक्ष, विशिष्ट विद्वान्, आबालब्रह्मचारी कविराज श्रीदेवराजाचार्य स्वामीजी लगायत वेदान्तादि शास्त्रका विशिष्ट विद्वान्हरू स्वामी श्री जगन्नाथाचार्य (कंडेल) लंकू, स्वामी श्री श्रीनिवासाचार्य (कंडेल) लंकू, स्वामी श्री नारायणाचार्य, सहस्रधारा आदि आचार्यहरूले दिनुभएको सल्लाह सुझाव सहितको विषय संशोधनबाट यो ग्रन्थाकार हुन सक्यो ।

 

यस परिचय पुस्तिकालाई २०७३/०७४ को चैत्र १ गतेदेखि वैशाख ५ गतेसम्म आयोजित राष्ट्रव्यापी धर्मजागरण रथयात्रा पश्चात् प्रसिद्ध तीर्थस्थल देवघाट धाममा श्रीरामानुजाचार्यको वैभव विग्रह (विशाल मूर्ति) स्थापना सहितको सहस्राब्दी महोत्सवको शुभ-अवसरमा नै सम्पूर्ण भक्तजनका हातमा पुऱ्याउनुपर्ने बाध्यता भएकाले हामीले शीघ्रताका साथ कार्य सम्पन्न गर्नुपर्यो, जसले गर्दा यसमा केही त्रुटिहरू रहन गएका होलान् । विद्वान्हरूबाट आएका सुझावहरूलाई हामी अर्को संस्करणमा संशोधन गरी प्रकाशन गर्नेछौं ।

 

श्रीमद् - भगवद्-रामानुजाचार्य स्वामीजीको पावन जीवन चरित्र र विशिष्टाद्वैत दर्शनको लेखनरूप महान् कार्य गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्त हर्षित छौँ र उक्त अवसर प्रदान गर्ने श्रीवैष्णव परिषद्, महिला परिषद् एवं युवा परिषद् नेपालप्रति आभार प्रकट गर्दछौँ । साथै विषयवस्तु सङ्कलनका क्रममा आएका विभिन्न शङ्काहरूको समाधानसहित परामर्श दिनुहुने श्रीकृष्णमाचार्य स्वामीजी लगायत सबै आचार्यहरूप्रति हार्दिक कृतज्ञता सहित वन्दन गर्दछौँ । यसरी नै यो ग्रन्थ सम्पादन गर्न प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आचार्यहरू र भक्तभागवतहरूप्रति पनि आभार व्यक्त गर्दछौं ।

 

अन्त्यमा-

न ह्यत्रातीव कर्तव्यं दोषदृष्टिपरं मनः ।

दोषो ह्यविद्यमानोऽपि तच्चित्तानां प्रकाशते ॥

जय श्रीमन्नारायण !!

There are no reviews for this eBook.

0
0 out of 5 (0 User reviews )

Add a Review

Your Rating *
There are no comments for this eBook.
You must log in to post a comment.
Log in